ट्रेन्ड सेटर : जीवनशैली बदल्ने ब्रान्ड
 

नेपालमा केही व्यवसायीले यस्ता व्यवसाय सुरु गरे, जसले नेपालीको जीवनशैली बदल्न महत्वपूर्ण भूमिका खेल्यो । व्यावसायिक ब्रान्ड नेपालीले रुचाए र व्यवसायी पनि सफल भए । अढाई दशकअघिसम्म किनमेल गर्न पसलपसल चहार्दै हिँड्ने नेपालीले अहिले एउटै छानामुनि नुनदेखि सुनसम्म किन्न पाउँछन् । ०३९ सालमा न्युरोडस्थित विशालबजारमा यो कन्सेप्ट पहिलोपटक भित्रियो । २५ वर्षअघि सुरु भएको भाटभटेनी सुपरमार्केटले त्यसलाई आधुनिक रूप दिँदै मोफसलसम्म फैलायो । ३० को दशकतिरै नेपालीले खाजाको रूपमा चाउचाउको स्वाद लिन थाले । अहिले विकट र दुर्गम गाउँ नुन केही दिन हाहाकार हुन सक्छ, तर चाउचाउ सहजै पाइन्छ । क्युएफएक्स सिनेमाज् सुरु हुनुअघिसम्म नेपालीलाई मल्टिप्लेक्सबारे त्यति जानकारी नै थिएन । कफी भनेको धेरै नेस्क्याफे मात्रै बुझ्थे । तर, दुई दशकअघि ठमेलमा खुलेको हिमालयन जाभाले काठमाडौंवासीलाई कफीको वास्तविक स्वाद दियो । घरमै बसीबसी किनमेल गर्ने सुविधा भित्र्यायो इ–सेवाले । यस्ता ट्रेन्ड सेटर ब्रान्ड धेरै छन् । जसको अनुसरण अन्य व्यवसायीले पनि गरे । ट्रेन्ड सेटर ब्रान्डबारे नवीन अर्यालको रिपोर्ट :

आइएमईः एकै दिनमा घरमा पैसा
०४६ को राजनीतिक परिवर्तनपछि सर्वसाधारणका लागि खुला गरिएको राहदानीले धेरैलाई वैदेशिक रोजगारीको बाटो खोलिदियो । खाडी तथा दक्षिण पूर्वी मुलुकमा नेपाली ओइरिन थाले । तर, विदेशमा कमाएको रकम सहजै आफन्तलाई पठाउने औपचारिक माध्यम थिएन । जोखिम मोलेर पठाउनुपथ्र्यो, लामो समय लाग्थ्यो ।

विदेशबाट रेमिट्यान्स भित्र्याउन कस्सिए, चन्द्र ढकाल । उनले सन् २००१ मा इन्टरनेसल मनी एक्सप्रेस (आइएमई) खोलेर औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन थाले । उताबाट पठाएकै दिन सजिलै आफन्तको हातमा पर्न थाल्यो । आइएमई यसरी चल्यो कि विदेशबाट पैसा पठाउनुलाई आइएमई गर्ने भन्न थालियो ।

त्यसपछि देवीप्रसाद भट्टचनले प्रभु मनी ट्रान्सफर सुरु गरे । रोजगारीको एक प्रमुख गन्तव्य नै विदेश बनेको यो समयमा रेमिट्यान्स कम्पनी पनि बढिरहेका छन् । प्रतिस्पर्धा बढेपछि सुलभ शुल्कमा तुरुन्तै आफन्तलाई रकम पठाउन सकिने अवस्था बनेको छ ।

क्युएफएक्सः नेपालीले देखे मल्टिप्लेक्स
क्युएफएक्स सुरु हुनुअघि विदेश यात्रा गरिरहने सीमितलाई मात्रै थाहा थियो, मल्टिप्लेक्स । नकिम उद्दिनले क्युएफएक्स सुरु गरेपछि धेरैलाई थाहा भयो । दुई दशकअघि जय नेपाल हलबाट सिनेमा प्रदर्शन व्यापार सुरु गरेका उनले कुमारी हल हुँदै देशका प्रमुख सहरमा यो व्यापार फैलाइसकेका छन् ।

अहिले क्युएफएक्सका देशभर ८ वटा हलमा १८ वटा पर्दा छन् । मोफसलका बुटवल, पोखरा, नेपालगन्ज, चितवनका दर्शकले पनि मल्टिप्लेक्सको मज्जा लिन पाइरहेका छन् । अझै देशभर फैलिने योजना छ । पछिल्लो समय अरू कम्पनीहरू पनि गुणस्तरीय मल्टिप्लेक्स सञ्चालनमा जुटेका छन् ।

एफक्युब, बिएसआर सिनेमा, रञ्जना सिनेमाले गुणस्तरीय सेवा दिइरहेका छन् । विराटनगर, बिर्तामोड, इटहरी, धरानलगायत सहरमा पनि धमाधम मल्टिप्लेक्स खुलिरहेका छन् । ब्ल्याकमा टिकट किनेर दुर्गन्धित हलमा उडुस÷उपियाँको आक्रमण झेल्दै सिनेमा हेर्नुपर्ने भएकाले सहरिया उच्चवर्ग हलबाट टाढिइसकेका थिए । मल्टिप्लेक्सले त्यो वर्गलाई हलमै तान्यो ।

नेपाली फिल्मसमेत गुणस्तरीय बन्न थालिसकेका छन् । ‘हाम्रो पर्दा ‘टु के’ र ‘फोर के’ प्रविधिका हुन्, फिल्महरू पनि यही प्रविधिमा बनेकै हुनुपर्छ,’ क्युएफएक्स सञ्चालक नकिम भन्छन्, ‘ठोकठाक गरिएका गुणस्तरहीन फिल्मलाई सुरुदेखि नै प्रवेश दिएनौँ ।’

भाटभटेनी स्टोरः एउटै छानामुनि सबै किनमेल
एउटै छानामुनि आफूलाई आवश्यक सामान किनमेल गर्ने संस्कृति नेपाली उपभोक्तामा बढ्दै छ । बजारमा पसल चहार्दै बार्गेनिङ गरेर किनमेल गर्ने परिपाटी विस्तारै घट्दै छ । पश्चिमा देशमा हुर्किएको आधुनिक किनमेल शैलीलाई नेपाल भित्र्याउने भाटभटेनी स्टोर हो ।

नेपाल बैंकको जागिर छाडेर व्यवसायमा होमिएका मीनबहादुर गुरुङले नेपालीको किनमेल शैली परिवर्तन गर्दै छन् । सानो किराना पसलबाट व्यापार सुरु गरेका गुरुङ उपत्यकाका साथै मोफसलमा एकसाथ भाटभटेनी स्टोर फैलाउँदै छन् । ०५० सालदेखि सुरु भएको भाटभटेनी देशका १५ ठाउँमा फैलिइसकेको छ । काठमाडौंबाहिर पोखरा, धरान, नारायणगढ, बुटवल र विराटनगरमा स्टोर खुलिसकेका छन् ।

भाटभटेनीले नेपालीलाई आधुनिक स्टोरमा किनमेल गर्न सिकायो । भाटभटेनीकै देखासिकीमा धमाधम आधुनिक सुपरमार्केट खुल्ने क्रम ह्वात्तै बढेको छ । सहरका टोलैपिच्छे सुपरमार्केट र मिनीमार्ट खुलेको देखिन्छ । बिगमार्ट, सेलवेज, सेल्सबेरी, के एन्ड के, सिजी मार्टलगायतले धमाधम चेन फैलाइरहेका छन् । सुपरमार्केटमा सामान महँगो हुन्छ भन्ने धारणा कमजोर हुँदै छ । ‘देशका सबै ठूला सहरमा भाटभटेनी स्टोर राख्ने लक्ष्य हो,’ गुरुङ भन्छन् ।

जाभाः कफी क्रान्ति
झन्डै दुई दशकअघि पनि कफी भनेकै ‘नेस्क्याफे’ थियो । जबकि पश्चिमा देशमा कफीको गेडालाई मेसिनमा हालेर कफी पकाउने प्रविधि प्रचलित थियो, नेस्क्याफेजस्ता इन्स्ट्यान्ट कफी त कफी पारखीको पेय नै मानिँदैनथ्यो । तारे होटलले समेत इन्स्ट्यान्ट कफी सर्ब गर्थे ।

झन्डै दुई दशकअघि ठमेलमा खुलेको हिमालयन जाभाले वास्तविक कफीको स्वाद दियो, काठमाडौंबासीलाई । जाभा नाममा सानो कफी पसल त गगन प्रधानले हेरिटेज प्लाजामा पनि खोलेका थिए । तर, कफीमा क्रान्तिचाहिँ उनले आनन्द गुरुङको साझेदारीमा ठमेलमा हिमालयन जाभा खोलेपछि सुरु भयो । अहिले जाभा दुई दर्जनभन्दा बढी ठाउँमा फैलिसकेको छ । अमेरिका, क्यानडा, थाइल्यान्ड र भुटानमा यसका फ्रेन्चाइज खुलेका छन् । हिमालयन जाभाले दुई दशकमा विस्तार गरेको नेटवर्कले कफीको राम्रो बजार खडा गरिदियो ।

जाभाले कफी बनाउने ट्रेनिङ पनि दिन थाल्यो । जाभामा काम गर्ने र तालिम लिनेहरूले आफैँ कफी पसल खोल्न थाले । सहरका टोलैपिच्छे कफी पसल खुल्न थाले । कफी पसल बढ्न थालेपछि कफीका पारखीहरू पनि बढ्दै गइरहेका छन् । पछिल्लो ५ वर्षयता कफी पसल खोल्ने लहर नै चलेको छ । कफी पारखी बढ्न थालेपछि विदेशी बहुराष्ट्रिय ब्रान्ड नेपाल प्रवेश गर्न थालेका छन् ।

गत वर्ष नेपाल भित्रिएको भारतीय चर्चित ब्रान्ड ‘क्याफे कफी डे’ ले दुई ठाउ“मा आउटलेट खोलेको छ । गगनले हिमालयन जाभाकै ब्रान्डमा कफीको गेडाको व्यापार पनि गर्छन् । फार्मिङ पनि गर्छन् । ‘सपना हिमालय जाभाको आउटलेट विस्तारमा सीमित छैन,’ गगन भन्छन्, ‘नेपाल प्रमुख कफी निर्यातको सूचीमा दर्ज भएको देख्ने सपना छ ।’

अविनाश ह्याचरीः कुखुरा क्रान्ति
गुणचन्द्र विष्टले ह्याचरी सुरु गर्दा ताका ७५ प्रतिशत चल्ला भारतबाट आयात हुन्थ्यो । कुखुराको मासुमा पनि भारतकै भर पर्नुपथ्र्यो । उनले आधुनिक प्रविधियुक्त ह्याचरी सुरु गरे । नयाँ प्रविधिको प्रयोग गर्न अरूलाई पनि हौस्याए । क्रमशः आधुनिक प्रविधिका ह्याचरी र पोल्ट्री फार्म खुल्न थाले । यही कारण मुलुक कुखुराका चल्ला, मासु र अन्डामा आत्मनिर्भर भइसकेको छ । विष्टले ०४६ मा दुई हजार प्यारेन्टबाट अविनाश ह्याचरी सुरु गरेका थिए ।

अहिले अविनाश ह्याचरीबाट २ लाख ब्रोइलर चल्ला र हप्ताको एक लाख लेयर्स चल्ला उत्पादन हुन्छन् । साथै, पोल्ट्री फार्मबाट दैनिक एक लाख ७० हजारभन्दा बढी अन्डा उत्पादन हुन्छन् । ह्याचरी, पोल्ट्री र दाना उद्योगमा गरी ७ अर्ब रुपैयाँ लगानी गरिससकेको उनी बताउँछन् । एउटै ह्याचरी फार्ममा ३ अर्ब रुपैयाँ लगानी गरेका छन् । मुलुकमा ठूला ह्याचरी र पोल्ट्री फार्महरू खुल्ने क्रम बढ्दो छ । देशभर कुखुरापालक किसान पनि बढिरहेका छन् ।

किसानले स्वदेशी ह्याचरीबाटै चल्ला लैजान्छन् । सरकारी तथ्यांकअनुसार देशभर पोल्ट्री र ह्याचरीमा लगानी खर्ब पुग्न थालिसकेको छ । वर्षमा १० अर्बका दरले ह्याचरी र पोल्ट्रीमा लगानी थपिइरहेको अनुमान छ ।

अनमोल क्याटरिङः पार्टी प्यालेसमा भोज
घरमा भोज गर्ने चलन हराउँदै छ । विवाह होस् वा व्रतबन्ध, जन्म दिनका पार्टी पनि पार्टी प्यालेसमै हुन्छन् । केही वर्षअघिसम्म घर वा टोलका खाली जग्गामा पाल टाँगेर भोज गर्ने चलन थियो । कार्यक्रम, सभा–समारोहदेखि वनभोजसम्म क्याटरिङ सेवा लिन थालिएको छ ।

सहरका चोकैपिच्छे खुलेका पार्टी प्यालेसले आफैँ क्याटरिङ सेवा दिन्छन् । क्याटरिङले भोजभतेरको परम्परागत संस्कारमै परिवर्तन ल्याइदिएको छ । नेपालमा क्याटरिङको अवधारणा ल्याउने व्यक्ति हुन्, बिएल शर्मा, जो आज भने छैनन् ।

बिएल शर्माले सञ्चालन गरेको वानेश्वरिस्थत अनमोल क्याटरिङ तथा पार्टी प्यालेसकै देखासिकी गरेर थुप्रै क्याटरिङ र पार्टी प्यालेस खुलेका छन् । मोफसलमा पनि क्याटरिङ सेवा उत्तिकै लोकप्रिय छ । घरमा होस् वा पार्टी प्यालेसमा क्याटरिङ सहज सेवा बनेको छ । ‘आउट डोर’ कार्यक्रममा पनि क्याटरिङ सेवा भरपर्दो बनिरहेको छ ।

सुरुवाती समयमा मिठाईको व्यापार गर्ने शर्माले ००७ को परिवर्तनपछि क्याटरिङ सर्भिस सुरु गरेका हुन् । उनले तत्कालीन दरबार, प्रधानमन्त्री निवास, सिंहदरबारमा क्याटरिङ सेवा उपलब्ध गराए । अहिले पनि सरकारी निकायमा अनमोल क्याटरिङले सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय पार्टी प्यालेसमा आकर्षण बढ्दो छ ।

विशाल बजारः सुपर मार्केट देखायो
देशमा मलको अवधारणा ल्याउने विशाल बजार हो । राजधानीको न्युरोडमा ०३९ तिर विशाल बजार खुल्दा धेरैको आकर्षण बन्यो । मानिसहरू लिफ्ट चढ्नकै लागि भए पनि विशाल बजार पुग्थे । आधुनिक सपिङ सेन्टरमा व्यापार पनि चकाचक थियो । पछिल्लो दशकमा धेरै सपिङ मलहरू थपिए । विशाल बजारनजिकै पशुपति प्लाजा र काठमाडौं मल खुले । वल्र्ड ट्रेड सेन्टर, सिटी सेन्टर, सिभिल मल, शेर्पा मल, लबिम मल, केएल टावर, बिजी मल, रञ्जना सपिङ सेन्टर, राइजिङ मल, स्टार मललगायत थपिँदै गए ।

मलमा मल्टिप्लेक्स, रेस्टुरेन्ट, गेमिङ जोनलगायत सुविधाहरू पनि पाइन थालेका छन् । मोफसलका विराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धरान, इटहरीलगायत ठूला सहरहरूमा पनि धमाधम सपिङ मलहरू खुलिरहेका छन् । नेपालीको किनमेल संस्कृति मलहरूले परिवर्तन गरिदिँदै छन् ।

टाइगर टप्सः वाइल्डलाइफ टुरिजमको सूत्राधार
चितवन वा बर्दिया पुगेर वन्यजन्तु हेर्न जंगल चाहर्ने बानी विदेशीमा मात्र होइन, नेपालीमा पनि सरेको छ । विदेशीका लागि नेपाललाई पनि वाइल्डलाइफ टुरिजमको गन्तव्य बनाउने टाइगर टप्स हो । चितवन र बर्दियाको पर्यटन जंगलमै अडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी रिसोर्ट खोलेर जिम एड्वार्डस्ले जंगल पर्यटनको विश्वभरि प्रचार गरे जसको निधन भइसक्यो । अफ्रिकामा सफारी र हन्टिङ पर्यटन सुरु भइसकेको थियो । विश्वका धनाढ्य महँगो प्याकेज किनेर जंगल घुम्न र शिकार खेल्न अफ्रिका पुग्थे ।

घुमफिरकै क्रममा नेपाल आइपुगेका ब्रिटिस नागरिक जिमले नेपालमा सफारी पर्यटनको सम्भावना देखे । सन् १९६४ मा चितवनमा टाइगर टप्स र बर्दियामा वेस्ट नेपाल हन्टिङ कम्पनी खुल्यो । उनले अफ्रिकाको जंगलमा धाउने खर्चालु पर्यटकलाई नेपाल भित्र्याए । टाइगर टप्स विश्वभरि चर्चित बन्यो । उनले मेघौलीमा हात्तीपोलो खेल सुरु गरेर पर्यटक लोभ्याए ।

अहिले सौराहा, मेघौली, अमलटारी, बर्दियालगायत ठाउँमा होटेल खोल्न होडबाजी चलेको देखिन्छ । यसको आधार टाइगर टप्सले खडा गरिदिएको थियो । जिमकै देखासिकीमा रिसोर्ट खोल्ने पर्यटकलाई जंगल घुमाउने व्यवसाय धेरैले थाले ।

जसले चाउचाउ खान सिकाए
खाजामा सर्वाधिक रोजाइमा पर्छ, चाउचाउ । बच्चा होऊन् वा बूढा, सबैमाझ चाउचाउ लोकप्रिय छ । ठूला सहरदेखि दूरदराजका गाउँसम्म चाउचाउ छ्याप्छ्याप्ती भेटिन्छ । देशमा चाउचाउ संस्कृतिको जग बसाल्ने रारा हो भने यसलाई लोकप्रिय बनाउनेचाहिँ वाइवाई हो ।

३० को दशकमै विदेशबाट फर्किने लाहुरेको ब्यागमा चाउचाउ हुन्थ्यो । विस्तारै काठमााडौंका ठूल्ठूला किराना पसलेले चाउचाउ बेच्न थाले । सहरमा चाउचाउ चिनिन थालेकै समयमा सूर्यबहादुर केसीले रारा चाउचाउ उत्पादन सुरु गरेका थिए, जुन दक्षिण एसियाकै पहिलो चाउचाउ मानिन्छ । लगत्तै विनोद चौधरीले वाइवाई उत्पादन सुरु गरे ।

राराले चाउचाउको एकसरो बजार खडा गरिदिएको थियो, वाइवाईले चाउचाउ खाने बानी नै बसालिदियो । वाइवाई विश्वका पाँचै महाद्वीपमा फैलिएको छ, विश्वव्यापी नेपाली ब्रान्ड बन्दै छ । यतिसम्म कि, नेपाली उपभोक्ता चाउचाउ भनेकै वाइवाई बुझ्छन् ।

डिसहोम : गुणस्तरीय टिभी प्रसारण
डिसहोमले नेपालीको टिभी हेर्ने शैलीमै परिवर्तन गरिदियो । स्याटलाइट प्रविधिबाट टिभी प्रसारण हुनाले देशका कुनाकाप्चासम्म टिभी प्रसारण भयो । डिसहोमकै सेवाले देशभरका नागरिकले गुणस्तरीय टेलिभिजन हेर्ने मौका पाए । घरको कौसी÷छतमा छाता राखेर डिजिटल प्रविधिमा फिल्म हेर्न पाइन्छ । देशको दुर्गम गाउँका झुप्रासम्म डिसहोमको छाना देख्न सकिन्छ । डिस होमले टेलिभिजन प्रसारणमै नयाँ आयाम ल्यायो । दुईवटा डिटिएच सेवा प्रदायकहरू होम टिभी र डिस नेपाल मर्ज भएर सन् २०१० देखि डिस होममार्फत् टिभी प्रसारण हुँदै आएको छ ।

जसले ‘रेस्टुरेन्ट कल्चर’ भित्र्याए
रेस्टुरेन्टमा गएर खाना खानु राम्रो मानिँदैनथ्यो । रेस्टुरेन्टमा खाएर घर फर्किंदा छोराछोरीले अभिभावकको झपार खानुपर्ने अवस्था थियो । रत्नपार्क, न्युरोडको भूगोलपार्कमा एकाध रेस्टुरेन्ट थिए । सहरका गल्लीमा साँघुरा खाजा पसल र भट्टी मात्र देखिन्थे ।

श्याम कक्षपतीले ०३० तिर रत्नपार्कमा ‘क्याफे डी पार्क’ सञ्चालन गर्दा रेस्टुरेन्ट व्यवसायलाई नै त्यति राम्रो मानिँदैनथ्यो । त्यसताका रत्नपार्कमा भार्क रेस्टुरेन्ट एन्ड बार र भूगोलपार्कमा इन्दिरा रेस्टुरेन्ट सञ्चालनमा थिए । ‘राणाले खोलेको भार्क रेस्टुरेन्ट केही वर्ष सोल्टी होटलले चलायो, महँगो हुनाले धेरैको पहुँच पुग्दैनथ्यो,’ उनी सम्झन्छन्, ‘मैले रेस्टुरेन्टमा ग्राहक तान्न वेस्टर्न म्युजिक ल्याएर बजाउँथे ।’ त्यो समयमै उनले पिज्जा, बर्गर, हटडकलगायत परिकार पस्किए । मःम ब्रान्डिङ गरेरै छाडे । अहिले मःम नेपालीको खाजामा पहिलो रोजाइमा पर्छ ।

नेपालमा रेस्टुरेन्ट व्यवसायको इतिहास आधा शताब्दी मात्र पुरानो छ । यो अवधिमा धेरै रेस्टुरेन्ट खुले, बन्द पनि भए । तर, पुख्र्यौली कपडाको व्यापार छाडेर रेस्टुरेन्ट व्यवसायमा होमिएका कक्षपतीले ‘रेस्टुरेन्ट चेन’को कल्चर बसाले । क्याफे डी पार्क बन्द भएपछि दरबारमार्गमा नाङ्लो रेस्टुरेन्ट खोलेका थिए कक्षपतीले । ‘नाङ्लो बेकरी क्याफे’ चेनका रूपमा ठाउँठाउँमा फैलाए । मोफसलका सहरमा पनि नाङ्लो पुग्यो ।

इसेवा : अनलाइन ‘पेमेन्ट’ सुरुवात
मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा धेरै नेपालीको दैनिकीसँग जोडिँदै छ । घरमै बसेर गरिने किनमेलको रकम भुक्तानीमा इसेवाले सहज बनाइदिएको छ । ‘अनलाइन कारोबारका लागि वस्तु तथा सेवाको रकम भुक्तानी गर्न सेवाप्रदायक आवश्यक थियो, हामीले इसेवा सुरु ग-यौँ,’ निर्देशक सुवास शर्मा भन्छन्, ‘इसेवामा पैसा जम्मा गरेर भुक्तानी गर्न सकिन्छ ।’ इसेवा मोबाइल तथा इन्टरनेटबाट किनमेल गर्न सकिने माध्यम हो । घरमै बसेर विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्न सकिन्छ । यसका लागि बैंक खाताबाट इसेवाको अकाउन्टमा रकम जम्मा गर्न सकिने व्यवस्था छ । बिल भुक्तानी, कसैलाई पैसा पठाउन वा पाउन इसेवाबाट सहजै सकिन्छ ।

सन् २००९ मा सुरु भएको इसेवाबाट मोबाइल र इन्टरनेट बैंकिङ सेवा ३५ लाख ग्राहकले लिइरहेका छन् । इसेवामा अकाउन्ट खोलेरै सेवा लिनेको संख्या ६÷७ लाखभन्दा बढी पुगिसकेको शर्मा बताउ“छन् । इसेवा जोन ३० हजार पुगिसकेका छन् । जसले देशभरका करिब ७०–८० लाख जनतालाई सेवा दिइरहेका छन् ।

विदेशमा अनलाइन कारोबार सुरु भइसकेको थियो । तर, नेपालमा केही ठूला बैंकले मात्र इन्टरनेट बैंकिङ सेवा भर्खर सुरु गरेका थिए । मोबाइल बैंकिङ सेवा सुरु भइसकेको थिएन । एफ वान सफ्टले स्वदेशमै इन्टरनेट र मोबाइल बैंकिङ प्रोडक्ट बनायो । सस्तैमा सफ्टवेयर पाएपछि फाइनान्स कम्पनीले पनि मोबाइल बैंकिङ सुरु गरिसकेका छन् ।

लगत्तै अर्को वर्ष इसेवा सुरु भयो । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने बनायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल÷कलेज, बिजुली पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था बनाए । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्,’ शर्मा भन्छन्, ‘घरबाटै अनलाइन कारोबार गर्न पाउँदा धेरैको दैनिकी सहज बनाइदिएको छ ।’ अहिले अनलाइन पेमेन्ट गेटवेको काम गर्ने धेरै कम्पनी जन्मिसकेका छन् । प्रभु पे, खल्ती, आइएमई पेलगायत सञ्चालनमा आइसकेका छन् ।

किचेन कन्सेप्ट : किचेन क्रान्ति
१५ वर्षअघि प्रकाश टिवडेवाल ‘सिन्टेक्स’ कम्पनीको प्लास्टिकका झ्यालढोकाको नेपाल वितरक हुन मुम्बई गएका थिए । त्यहाँ प्लास्टिकको मोडुलर किचन देखेपछि त्यतै लोभिए । उनलाई मोडुलर किचन काठमाडौंमा चल्छ भन्ने लाग्यो । सिन्टेक्सले रुचि देखाएन, प्रकाशले मोडुलर किचनको अरू ब्रान्ड खोज्न थाले । ‘स्लिक’ ब्रान्ड प्रकाशलाई फ्रेन्चाइज दिन तयार भएपछि उनले २००३ मा ‘किचेन कन्सेप्ट’ सुरु गरे ।

प्रकाशका अनुसार किचन कन्सेप्ट सुरु गर्नुअघि नै काठमाडौंमा मोडुलर किचेन बनाउने एकाध कम्पनी खुलिसकेका थिए । तर, तिनले मोडुलर किचनलाई धनाढ्यको घरमा मात्र प्रयोग हुने बहुमूल्य उत्पादनका रूपमा मार्केटिङ गरिरहेका थिए । प्रकाशले मध्यमवर्ग लक्षित बजार प्रवद्र्धन गरी मध्यमवर्गले धान्न सक्ने उत्पादन बजारमा ल्याए । विस्तारै घरमा मोडुलर किचनको चलन बढ्दै गयो ।

घरको सुन्दरता बढाउनका साथै स्वास्थ्यको लागि पनि मोडुलर किचन आवश्यक पर्ने उनी बताउँछन् । भान्छाको कामले गर्दा महिलाहरूमा कम्मर आदिको समस्या देखिन्छ । तर, वैज्ञानिक तरिकाबाट निर्मित मोडुलर किचनले स्वास्थ्यमा यस्तो समस्या नियन्त्रण गर्छ । काठमाडौंजस्तो सहरमा पनि भान्छाको काममा श्रीमती नै सक्रिय हुनपर्छ ।

सहयोगी राखेका घरमा पनि आंशिक काम श्रीमतीले गरेकै हुन्छन् । ‘मोडुलर किचन श्रीमानले श्रीमतीलाई दिने उत्तम उपहार हो,’ उनी थप्छन् । पोखरा, चितवन, बुटवल, विराटनगर, इटहरी र दमकमा किचन कन्सेप्टले आउटलेट विस्तार गरिसकेको छ । अब हेटाँैडा, नेपालगन्ज र वीरगन्जमा खोल्ने योजना छ । किचेन कन्सेप्टले ९९ हजारदेखि ३५ लाख रुपैयाँसम्मका किचन बनाएको छ । हरेक घरको लागि किचन कन्सेप्ट उनको नारा छ । ६ लाखदेखि ८ लाख रुपैयाँका मोडुलर किचनको माग सबैभन्दा धेरै छ ।

हवाई उडानमा सफल क्रान्तिः बुद्ध एयर
औपचारिक अध्ययन सकेपछि मोरङको गाउँमा व्यावसायिक खेती गरेर बसेका वीरेन्द्रबहादुर बस्नेतले उद्यम गर्न त्यतिवेला चल्तीका कार्पेट, गार्मेन्ट आदि व्यवसायको सम्भाव्यता अध्ययन गरे । तर, चित्त बुझेन । अन्तमा एयरलाइन्स खोल्ने निष्कर्षमा पुगे ।

०४८ को आमचुनावबाट सरकारमा पुगेको कांग्रेसले आर्थिक उदारीकरण अवलम्बन गरेको थियो । निजी क्षेत्रका लागि हवाई उडान खुला गरिएपछि नेकोन एयर, एभरेस्ट एयर, नेपाल एयरवेज सुरु भए । बस्नेत परिवारले पनि हवाई व्यवसायमा उत्रिने निधो ग-यो । आकाश खुला गरिएपछि च्याउसरी उम्रिएका कम्पनी विस्तारै बन्द हुँदै गए, बुद्ध एयरले चाहिँ सफलताको दुई दशक पार गरिसकेको छ । गएको आर्थिक वर्षमा १२ लाख प्यासेन्जर ओसारेको बुद्धले यसपाली १५ लाखलाई सेवा दिने अनुमान छ, जुन कूल प्यासेन्जरको ६० प्रतिशतभन्दा बढी हुन जान्छ ।

बुद्ध एयर संस्थागत रूपमा बलियो भएर हवाई उद्योगमा अग्रणी बन्यो नै, माउन्टेन फ्लाइट सुरु गरी पर्यटकलाई हिमाल देखाउन सुरु गर्ने श्रेय पनि बुद्ध एयरलाई जान्छ । अहिले नेपाल आउने पर्यटकका साथै घरेलु पर्यटकका लागि माउन्टेन फ्लाइट महत्वपूर्ण टुरिजम प्रोडक्ट बनेको छ । संरचनागत हवाई भाडा सुरु गर्ने पनि बुद्ध एयर हो, जसका कारण समयमै टिकट लिनेले सस्तो दरको टिकट पाउन सक्छन् ।

भारतको बनारसमा उडान गरिरहेको बुद्ध नोभेम्बरदेखि काठमाडौं–कोलकाता उडान गर्ने तयारीमा छ । नेपालगन्ज–दिल्ली उडानको अनुमतिका लागि आवेदन गर्न लागेको छ । यसबाहेक पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि तेस्रो मुलुकमा उडानका लागि अध्ययन चलिरहेको छ । १० वटा विमानबाट उडान गरिरहेको बुद्धसँग छिट्टै एउटा एटिआर–७२ थपिंदै छ ।


Comments (1)

  • ss
    |
    10 Aug 2018

    THESE TYPE OF FACILITIES HELPING US A LOT IN DAILY LIEF. ESEWA IS CONNECTING WITH MORE VENDORS AND HOPE TO GROW NATOINWISE.


Leave a Comment

All fields marked with an asterisk (*) are required