के तपाइले इसेवामा भर्नुभएको KYC अस्वीकृत भयो ? निराश नहुनुहोस्, सामन्यत तपाईले भर्नुभएको विवरण नमिलेमा वा कुनै विवरण अस्पष्ट भएमा तपाईको KYC Reject हुन्छ । यस व्लगमा KYC भनेको केहो यसको महत्व , अस्विकार हुनुको कारण र तिनको समाधान बारे बुझ्नेछौं।
Contents
KYC भनेको के हो ?
KYC (Know Your Customer) भनेको ग्राहकहरूको पहिचान प्रमाणित गर्ने र सम्पत्ती शुद्धकरण तथा वित्तीय अपराधका जोखिमहरू न्यूनीकरण गर्ने महत्वपूर्ण प्रक्रिया हो । नेपाल राष्ट्र बैंकको २०८०/८१ जारी भएको प्रावधान अनुसार कुनै पनि किसिमको वित्तीय कारोबार गर्न चाहने सबै ग्राहकहरूको लागि KYC अनिवार्य गरेको छ ।
इसेवा प्रयोगकर्ताले KYC भर्न किन आवश्यक छ ?
इसेवा प्रयोगकर्ताहरूले अनिवार्य रुपमा KYC प्रक्रिया पूरा गर्नुपर्दछ । यस प्रक्रियामा प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न नाम, ठेगाना जस्ता व्यक्तिगत जानकारी र नागरिकता, लाइसन्स जस्ता पहिचान खुल्ने कागजातहरु पेश गर्नुपर्ने हुन्छ । KYC प्रक्रिया डिजिटल कारोबारमा कुनै पनि गैरकानुनी गतिविधिहरू रोक्न र इसेवाको प्लेटफर्मको सुरक्षा सुनिश्चित गर्नको लागि डिजाइन गरिएको भए पनि, केहि प्रयोगकर्ताहरूले KYC भर्दा अस्वीकृति भएको हुनसक्छ । यसरी KYC अस्वीकृति हँुदा महत्वपूर्ण वित्तीय सेवाहरूमा पहुँच नहुनु निराशाजनक र समय खपत हुने हुन सक्छन् । KYC अस्वीकृत हुनुको ५ मुख्य कारण र तिनको समाधान बारे जानकारी निम्नानुसार छन् ।
१. सक्कल कागजातहरु अपलोड नगरेमा :
कतै तपाईले KYC भर्ने क्रममा नागरिकता, लाइसनस वा अन्य परिचय खुल्ने कागजातको फोटोकपीको फोटो खिचेर त अपलोड गर्नुभएको छैन ? KYC अस्वीकृत हुनुको एउटा मुख्य कारण सक्कल कागजात अपलोड नगर्नु हो । KYC भर्दा तपाईको परिचय खुल्ने र स्पष्ट देखिने सक्कल कागजातको फोटो अपलोड गर्नुपर्दछ यदि तपाईले कागजातको फोटोकपीको फोटो अपलोड गर्नुभएमा उक्त KYC अस्वीकार हुन्छ ।KYC प्रक्रिया पूरा गर्नको लागि तपाईले सरकारद्वारा जारी गरिएको नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र, चालक अनुमती पत्र र राहदानी जस्ता मूल पहिचान कागजातहरु मध्ये कुनै एउटा पेश गर्नुपर्दछ । तपाइले फोटो खिचेर अपलोड गर्नुभएको कागजात स्पष्ट बुझिन्छ वा बुझिदैन भन्ने कुरा सुनिश्चित गर्नुहोस् ।
२. पेश गरिएको कागजात फोटो र भर्नुभएको विवरण फरक भएमा
तपाईले भर्नु भएको व्यक्तिगत विवरण र अपलोड गरिएको नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र, चालक अनुमती पत्र, वा राहदानीमा उल्लेखित विवरणहरू पूर्णरूपमा मेल खानुपर्छ । नाम, जन्म मिति, ठेगाना लगायतका विवरणहरू पेश गरिएको परिचय पत्र अनुसार नै हुनुपर्दछ भने आधिकारीक पहिचान कागजातमा रहेको फोटो र अपलोड गरिएको फोटामा पनि समानता हुनुपर्छ । यदि कुनै प्रयोकर्ताले आफ्नो फोटो प्रयोग गरी अन्य व्यक्तिको परिचय पत्र अपलोड गरेको खण्डमा KYC अस्वीकृत हुनेछ । त्यसै गरि प्रयोगकर्ताले आफ्नो नाम विभिन्न तरिकाले लेख्ने गरेको भएमा परिचय खुल्ने कागजातमा र भरिएको विवरणमा एकरूपता कायम गर्नुपर्दछ ।
३. कागजातको दुवैतर्फको फोटो अपलोड नगरिनु
दुवैतर्फ महत्वपूर्ण विवरणहरू उल्लेख हुने नागरिकता तथा राहदानी जस्ता कागजातहरु अपलोड गर्दा, प्रमाणपत्रको अगाडि र पछाडिको दुवैतर्फको फोटो स्पष्ट रूपमा अपलोड गर्नुपर्दछ । तर मतदाता परिचयपत्र तथा चालक अनुमतिपत्रको पछाडि कुनै पनि महत्वपूर्ण जानकारी नहुने हुँदा, यी प्रमाणपत्रहरूको अगाडिको भाग मात्रै अपलोड गर्दा पनि पर्याप्त हुन्छ ।
४. एउटै परिचय विवरणको प्रयोग गरि दुइ वटा इसेवा खाताको प्थ्ऋ प्रमाणीकरणको प्रयास
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार एउटै प्रयोगकर्ता परिचय पत्रले दुईवटा इसेवा खाता प्रमाणित गर्न मिल्दैन । त्यसैले तपाईले पहिले नै एउटा इसेवा खाता प्रमाणित गरिसक्नुभएको छ र पुनः त्यही परिचय विवरण प्रयोग गरि नयाँ इसेवा खाता बनाएर प्रमाणित गर्न खोज्दै हुनुहुन्छ भने, तपाईको KYC अस्वीकृत हुनेछ । त्यसै गरि तपाईको सिम कार्ड हराएको र उक्त नम्बर पुनः प्रयोग गर्न असमर्थ भएमा वा तपाईको पुरानो नम्बर दूरसञ्चार कम्पनीद्वारा अरु कसैलाई वितरण गरिसकेको भए तपाईले आफ्नो पुरानो इसेवा खाता बन्द गर्नुपर्ने हुन्छ । इसेवा खाता बन्द गर्नको लागी आफ्नो कागजात, पुरानो र नयाँ इसेवा खाता र हालसालै खिच्नुभएको फोटो सहित इसेवा सर्पोटमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सक्नुहुन्छ ।
५. पेश गरेको कागजातमा रहेको नम्बर र भर्नुभएको नम्बरमा असमानता
KYC भर्दा उल्लेख गरिएको नम्बर र परिचय खुल्ने कागजमा उल्लेखित नम्बर (जस्तै नागरिक्ता नम्बर, राहदानी नम्बर ) एउटै हुनुपर्दछ यदि कुनै पनि प्रकारको असमानता देखिएमा KYC प्रक्रिया अस्वीकृत हुनेछ । तसर्थ, प्रमाणिकरण अघि जानकारीहरू राम्रोसँग जाँच गरी सही विवरणहरू प्रविष्ट गर्नुपने हुन्छ ।
KYC अस्वीकृति हुनुको पछाडि माथि उल्लेख गरिएको जस्तै विभिन्न कारणहरू हुन सक्छ । आफ्नो जानकारी दोहोरो जाँच गरी, र आफुले पेश गरेको कागजातहरूको शुद्धता सुनिश्चित गरेर, तपाईले सम्भावित समस्याहरू समाधान गर्न सक्नुहुन्छ र इसेवाको सेवा सुविधा उपभोग गरि सहज वित्तीय कारोबारको अनुभव लिन सक्नुहुन्छ । KYC प्रमाणीकरण गरेपछि, तपाईले इसेवा मार्फत कारोबार गर्नुको, साथै इसेवाको विभिन्न अफरहरूमा भाग लिई रोचक पुरस्कारहरू जित्ने मौका पाउँन सक्नुहुन्छ । याद राख्नुहोस् KYC वित्तीय कारोबारको सुरक्षाको लागि एक महत्वपूर्ण प्रक्रिया हो, त्यसैले प्रमाणीकरण प्रक्रियाको क्रममा निर्देशिका पालना गरी सही जानकारी प्रदान गर्नु अत्यन्तै महत्वपूर्ण छ ।