पसलमा एकै दिन कसैले सामान उधारो लिनुहुन्छ, कसैले पुरानो रकमको केही भाग तिर्नुहुन्छ। ग्राहकले “मेरो कति बाँकी छ?” भनेर सोध्दा यी दुवैको हिसाब चाहिन्छ। विवरण मिलाएर राखिएको छ भने सही रकम बताउन र आवश्यक पर्दा पुरानो कारोबार हेर्न सजिलो हुन्छ।
eSewa Business App भित्र उपलब्ध लेनदेनमा ग्राहक थपेर उहाँको उधारो र भुक्तानीको हिसाब एकै ठाउँमा राख्न सक्नुहुन्छ। कुन ग्राहकले कति तिर्न बाँकी छ भन्ने पनि यहीँबाट हेर्न मिल्छ।
१. हरेक ग्राहकको हिसाब एकै ठाउँमा राख्नुहोस्
लेनदेनमा ग्राहक थप्दा नाम र मोबाइल नम्बर सही राख्नुहोस्। त्यसपछि उहाँसँग हुने उधारो कारोबार त्यही ग्राहकको नाममा थप्दै जानुहोस्।
ग्राहकको विवरण खोल्दा उहाँको उधारो र भुक्तानीको हिसाब हेर्न सक्नुहुन्छ। एउटै ग्राहकले पटकपटक उधारो लिनुभएको वा बीचमा रकम तिर्नुभएको छ भने ती विवरण एकै ठाउँमा हुँदा पहिले देखि बाँकी रहेको रकम बुझ्न सजिलो हुन्छ।
२. नयाँ उधारोसँगै भुक्तानीको हिसाब पनि राख्नुहोस्
नयाँ उधारो थप्दा रकमसँगै कारोबार भएको मिति र भुक्तानी गर्नुपर्ने मिति पनि उल्लेख गर्नुहोस्। यदि ग्राहकले आंशिक रकम मात्र भुक्तानी गर्नुभयो भने, कुल बाँकी रकम स्वतः अपडेट हुन्छ; उदाहरणका लागि, रु. १,८०० मध्ये रु. ८०० भुक्तानी भयो भने अब रु. १,००० बाँकी रहन्छ।
त्यस्तै, भुक्तानी अनुरोध (Payment Request) मार्फत eSewa बाट प्राप्त भुक्तानी विवरणहरू पनि सीधै लेनदेनमा देखिनेछन्। यसबाहेक, तपाईंले आफैले म्यानुअल रूपमा राख्नु भएको भुक्तानी विवरणहरू पनि छुट्टै हेर्न सक्नुहुन्छ। यसले कुन रकम चुक्ता भयो र कति बाँकी छ भन्ने हिसाब स्पष्ट रूपमा बुझ्न मद्दत गर्छ।
३. बाँकी रकम र तिर्ने मिति नियमित हेर्नुहोस्
कतिपय ग्राहकसँग हप्ताको अन्त्यमा त कतिपयसँग महिनाको अन्त्यमा हिसाब मिलाउने सहमति भएको हुन सक्छ। त्यसैले, लेनदेनमा बाँकी उधारो र तिर्ने मिति नाघेको रकमको विवरण सीधै हेर्न सकिन्छ।
दिनको अन्त्यमा केही समय यो विवरण हेर्दा कुन ग्राहकसँग भुक्तानीबारे कुरा गर्नुपर्ने हो भन्ने छुट्याउन सजिलो हुन्छ।
४. ग्राहकसँग कुरा गर्दा बाकी रहेको उधारो हिसाबलाई आधार बनाउनुहोस्
ग्राहकले आफ्नो बाँकी रकम सोध्दा लेनदेनमा उहाँको विवरण खोलेर जानकारी दिनुहोस्। उहाँले फरक रकम बताउनुभयो भने कुन दिनको उधारो वा भुक्तानीको हिसाब फरक परेको हो, सँगै हेर्नुहोस्। विवरणकै आधारमा कुरा गर्दा दुवैलाई हिसाब बुझ्न सजिलो हुन्छ।
ग्राहकले फेरि उधारो माग्दा पनि पुरानो बाँकी रकम र तिर्ने सहमति हेरेर कुरा गर्न सक्नुहुन्छ। भुक्तानी सम्झाउनुपर्ने भए eSewa खाता भएका र लेनदेनमा जोडिएका ग्राहकलाई भुक्तानी अनुरोध पठाउन पनि सक्नुहुन्छ।
आजै लेनदेनबाट उधारोको हिसाब व्यवस्थित गर्न सुरु गर्नुहोस्
eSewa Business App खोलेर लेनदेनमा आजका उधारो र प्राप्त भुक्तानीका विवरण राख्नुहोस्। त्यसपछि ग्राहकअनुसार बाँकी रकम जाँच्नुहोस् र आवश्यक परे भुक्तानीको जानकारी दिनुहोस्। नियमित रूपमा यी विवरण अद्यावधिक राख्दा ग्राहकको उधारोको हिसाब सम्हाल्न र भुक्तानीको अनुगमन गर्न सहज हुन्छ।
