eSpeaker कसरी सेट-अप (setup) गर्ने?

डिजिटल माध्यमबाट कारोबार संचालन गर्न सहज र सजिलो बनाउने लक्ष्यमा इसेवा सधैं समर्पित रहेको छ। त्यही लक्ष्यमा दृढ रहँदै, हामीले तपाईंहरुको सहजता र सुविधाको लागि इस्पीकर(eSpeaker) लिएर आएका छौं। इस्पीकर तुरुन्तै आवाजबाट तपाईंको कारोबारको सूचना तपाईंलाई बताउने यन्त्र हो। SMS हेरिरहन नपर्ने, पुरानो कारोबारहरु फेरि सुन्न सकिने,WiFi वा सिम कार्डको माध्यमबाट नेटवर्कमा जडान हुने जस्ता फाइदाहरुले गर्दा इस्पीकर आजको डिजिटल युगको आवश्यकता हो। 

४८ घण्टा सम्म ब्याट्री टिक्ने हुँदा ढुक्क भएर कारोबारको सूचनाको जिम्मा ढुक्कसाथ इस्पीकरलाई दिन सकिन्छ। इस्पीकर खरिद गरिसकेपछि यसलाई सेट अप गर्न निम्न उल्लिखित प्रक्रियाहरुको पालना गर्नुहोस् : 

१. इस्पीकर लिईसकेपछि एक पटक पूर्ण रूपमा चार्ज गर्नुहोस्।  

चार्ज भए नभएको थाहा पाउन तपाईंले सूचक बत्ती (Indicator) हेर्न सक्नुहुनेछ।   

हरियो बत्ती बल्यो भने चार्ज भइरहेको बुझ्न सकिन्छ। रातो बत्ती बल्दा चार्ज कम भएको बुझ्न सकिन्छ। चार्ज सक्किन लाग्दा इस्पीकर आफैंले तपाईंलाई आवाज मार्फत सूचना दिनेछ।

२. त्यसपछि तपाईंले इस्पीकरलाई दाहिनेतर्फ धकेलेर Power On गर्न सक्नुहुनेछ।  

Power On भईसकेपछि इस्पीकरले “कृपया यस उपकरणलाई फेरि setup गर्नुहोस्” भन्ने सूचना दिनेछ। 

यदि तपाईंलाई यो सूचना आएन भने, Reset को प्वालमा Sim Ejector पिनको प्रयोग गरी बटन थिच्नुहोला। रिसेट गर्नका लागि कृपया कुनै पनि धारिलो वस्तुको प्रयोग नगर्नुहोला; धारिलो वस्तुको प्रयोगले इस्पीकर यन्त्रमा खराबी आउन सक्छ। रिसेट गर्नु भएपछि तपाईंलाई  “कृपया यस उपकरणलाई फेरी setup गर्नुहोस्” भन्ने सूचना आउनेछ।

 

३. दाहिने तर्फको सूचक बत्ती रातोमा झिमिक झिमिक गर्नुको अर्थ हो इस्पीकर Network मा जडान गर्नको लागि तयार छ। 

४. त्यसपछि आफ्नो फोनमा WiFi को setting मा जानुहोस्।

    

५. त्यहाँ Available Networks को सूचीमा इस्पीकरको Model Number र Serial Number देख्न सक्नुहुनेछ, त्यो WiFi मा Connect गर्नुहोस्।   

तपाईंको eSpeaker को Model Number र Serial Number थाहा पाउनका लागि तलको चित्र हेर्नुहोस्

 

६. त्यस नेटवर्कको password मा १० अंकको Serial Number राख्नुहोला।      

७. नेटवर्कमा जडान भएपछि तपाईंको फोनको Browser मा आफैं Set-up पेज खुल्नेछ।

यस पेजमा रहेका कुराहरू पढ्नुहोला।

 

Set-up पेज आफैँ खुलेन भने, तपाईंले आफ्नो Browser मा गएर “10.0.1.1” राख्नुहोस्। Set Up पेज आफैँ खुल्नेछ।

८. पेजको सबैभन्दा तल रहेको “Get Started” मा थिच्नुहोस्।

९. तपाईंले आफ्नो इस्पीकरलाई सिम कार्डबाट नेटवर्कमा जडान गर्न खोज्नुभएको भए “GSM Mode” रोज्नुहोला। तपाईंले आफ्नो इस्पीकरलाई Wifi बाट नेटवर्कमा जडान गर्न खोज्नुभएको भए “Wi-Fi Mode” छान्नुहोला। त्यसपछि तलपट्टी रहेको “Next” मा थिच्नुहोला। 

१०. क. Wi-Fi Mode छान्नुभएको भए,

अब तपाईंले आफ्नो नजिक रहेको WiFi को सूची देख्न सक्नुहुनेछ। तपाईंको आफ्नो वा रोजाईको WiFi छानेर WiFi को पासवर्ड (Password) राख्नुहोस्। त्यसपछि, नेटवर्कमा जडान हुनका लागि ‘Connect’ मा थिच्नुहोस्। 

 अब WiFi ले काम गरिरहेको छ वा छैन भनी चेकजाँच गर्नका लागि “Test Connection” मा क्लिक गर्नुहोस्। तपाईंको eSpeaker मा नेटवर्कमा जडान हुनका लागि झिमिकझिमिक रातो बत्ती अझै पनि बलिरहेको हुनेछ।

करिब ३० सेकन्डको पर्खाइ पछि त्यो झिमिक झिमिक बल्ने रातो बत्ती बन्द हुनेछ, यसको अर्थ इस्पीकर नेटवर्कमा जडान हुन सफल भएको छ। इस्पीकरबाट आवाज मार्फत तपाईंलाई नेटवर्कमा जडान भएको सूचना आउनेछ। अब तपाईंको इस्पीकरले कारोबारको सूचना आवाज मार्फत दिनेछ।  

१०. ख. GSM Mode छान्नुभएको भए,

अब तपाईंको सिम कार्ड नेटवर्कमा जडान सफलतापूर्वक भएको छ वा छैन भनी चेकजाँच गर्नका लागि “Test Connection” मा क्लिक गर्नुहोस्

 

 


करिब ३० सेकन्डको पर्खाइ पछि त्यो झिमिक झिमिक बल्ने रातो बत्ती बन्द हुनेछ, यसको अर्थ इस्पीकर नेटवर्कमा जडान हुन सफल भएको छ। इस्पीकरबाट आवाज मार्फत तपाईंलाई नेटवर्कमा जडान भएको सूचना आउनेछ। अब तपाईंको इस्पीकरले कारोबारको सूचना आवाज मार्फत दिनेछ।
 
तपाईंले सफलतापूर्वक आफ्नो इस्पीकरलाई प्रयोगको लागि सेट अप गर्नुभएको छ
हामी आशा गर्दछौँ, तपाईंलाई इस्पीकर सेट अप गर्नका लागि यस ब्लगले सहयोग पुर्याएको छ। तपाईंलाई सेट अप गर्नका लागि तथा इस्पीकर सम्बन्धी कुनै पनि जिज्ञाशा वा समस्या परेमा हामीलाई निम्न लिखित ठेगाना वा नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुनेछ।


सम्पर्क ठेगाना:
टोल फ्री नम्बर:        1660-01-02121(NTC का लागि नि:शुल्क)
                               1810-21-02121(Ncell का लागि नि:शुल्क)
इमेल ठेगाना:           [email protected]
भाइबर नम्बर:         +977-12345-12345

हामी आशा गर्दछौँ कि इस्पीकरले तपाईंको व्यापार-व्यवसाय संचालन गर्नलाई थप सजिलो बनाउनेछ। तपाईंको व्यापार व्यवसायमा थप प्रगतिको कामना सहित यस नवीन यन्त्रलाई आत्मसाथ गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.