नेपालमा अनलाइन ठगी र यसबाट बच्ने उपायहरू

नेपालमा अनलाइन ठगी र यसबाट बच्ने उपायहरू!

आजको आधुनीक युगमा सामाजिक सञ्जाल, हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर हामी सजिलै हाम्रो साथीभाइ र परिवारसँग निकटता बनाइ रहन सक्छौं, साथै विश्वभर कहाँ के भइरेहको छ भन्ने बारे पनि जानकारी प्राप्त गर्न सक्छौं । यद्यपि, यो डिजिटल युगसँगै अनलाइन ठगीको समस्याले हामीलाई गम्भीर रूपमा असर पुर्याउन सक्दछ । अनलाइन ठगी भनेको के हो? यसबाट कसरी बच्ने? यस ब्लगमा हामी अनलाइन ठगीका प्रकार र यसबाट बच्ने उपायहरूको बारेमा विस्तृत जानकारी दिनेछौं।

Contents

अनलाइन ठगी के हो?

अनलाइन ठगी भनेको कुनै व्यक्ति वा समूहले विद्युतीय माध्यम (जस्तै, ईमेल, सामाजिक सञ्जाल, वेबसाइटहरू आदि) मार्फत ठगी गर्नको लागि अनाधिकृत रूपमा अर्को व्यक्तिको बैंक खाता वा व्यक्तिगत जानकारीमा पहुँच प्राप्त गरी रकम ठगी गर्ने कार्य हो । अनलाइन ठगीका धेरै प्रकार छन्, जसमा सामाजिक सञ्जाल ह्याकिंगदेखि लिएर, अनलाइन सपिङ्ग साइटमा धोखाधडी गर्ने कार्य सम्म रहेका छन्।

 

नेपालमा प्रचलित अनलाइन ठगीको प्रकारहरू

१. सामाजिक सञ्जाल ह्याकिंग

फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता प्लेटफर्महरूमा व्यक्तिगत खाताहरू ह्याक गरेर ठगी गर्ने चलन बढ्दै गएको छ। ह्याकरहरूले प्रायः प्रयोगकर्ताका परिवार वा साथीभाइहरूसँग प्रयोगकर्ताको सामाजिक सञ्जाल खाताको प्रयोग गरी विभिन्न कारण देखाइ पैसा सापटी माग्दै मेसेज पठाउँछन् । यसरी आफ्नो चिनजानको मान्छेलाई अप्ठेरो परेको बेला सहयोगी भावनाको साथ ह्याकरद्वार उल्लेखीत बैंक खातामा रकम पठाउँछन् र ठगीको शिकार हुने गर्दछ ।

२. फिसिङ (Phishing)

फिसिङ्ग एक प्रकारको साइबर अपराध हो, जसमा लक्षित व्यक्तिलाई इमेल, फोन कल, मेसेजमार्फत आधिकारीक बैंक वा अन्य विश्वसनीय संस्था वा सो संस्थाको प्रतिनिधीको रूपमा प्रस्तुत भई झुक्याएर व्यक्तिगत जानकारी, बैंक तथा क्रेडिट कार्ड विवरण, र इत्ए तथा पासवर्ड जस्ता संवेदनशील जानकारी माग गर्ने गर्दछन् । यसरी प्राप्त गरिएका जानकारीहरु पछि, अनाधिकृत रुपमा प्रयोगकर्ताको बैंक तथा सामाजिक सञ्जाल खातामा पहुँच प्राप्त गर्न प्रयोग गरी पहिचान चोरी र आर्थिक क्षति पुर्याउने जस्ता कार्यको लागि प्रयोग गर्ने गर्दछन् । फिशिङ्ग इमेलहरूमा प्रायः आकर्षक अफरहरू, तुरुन्तै प्रतिक्रिया दिनुपर्ने दबाब, खतरनाक हाइपरलिंकहरू, अनौठो प्रेषकको नाम, र अप्रत्याशित फाइलहरू जस्ता सामान्य लक्षणहरू देख्न सक्नुहुन्छ ।

३. अनलाइन शपिंग ठगी

आजको व्यसत समयमा अनलाइन शपिंग, सामान खरिद गर्नको लागि लोकप्रिय माध्यम बनिसकेको छ । यसले मानिसहरुको जिवनलाई सहज बनाएको छ , तर सहजता सँगसँगै सतर्कता अपनाउन नसक्दा अनलानइ शपिंगको नाममा ठगीका केसहरू पनि बढेका छन्। धोखाधडी गर्ने नियतको साथ नक्कली वेबसाइटहरू सिर्जना गरी ग्राहकलाई सस्तो मूल्यमा वस्तु बेच्ने प्रलोभनमा पारि अग्रिम भुक्तानी लिइ ठग्ने गरेको पाइएको छ ।

४. लटरी र उपहारको प्रलोभन

लटरी र उपहारको प्रलोभन देखाइ गरिने ठगीमा अनलाइन प्लेटफर्महरूमा आकर्षक उपहार वा ठूलो रकम जितेको भन्दै झुक्यानमा पारि लक्षित वर्ग वा व्यक्तिलाई फसाइन्छ। यसमा, ठगहरूले मेसेज वा इमेलमार्फत लक्षित व्यक्तिलाई सम्पर्क गरी, तिनीहरूलाई ठूलो पुरस्कार जितेको दाबी गर्छन्। प्रायः यस्ता सूचनामा पुरस्कार प्राप्त गर्नका लागि केही शुल्क तिर्नु पर्छ र सो रकम भुक्तानी गर्न आग्रह गर्ने गर्दछ । यसरी, लटरी वा उपहार प्राप्त गर्न निश्चित रकम शुल्क बापत तिर्न लगाई रकम लिई फरार हुने गर्दछन्।

५. रोमान्स र सेक्स्टोर्शन (Romance & Sextortion)

रोमान्स र सेक्स्टोर्शनमा ठगी गर्नेहरूले नक्कली प्रोफाइल बनाइ आर्थिक फाइदा उठाउने नियतका साथ अनलाइन सम्बन्ध स्थापित गर्छन् । यस्ता ठगीहरू केवल डेटिङ साइटहरूमा सीमित नभइ अनलाइन गेमिङ साइट, र व्यावासिक नेटवर्किङ प्लेटफर्महरू, फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा पनि हुन सक्छ। यस किसिमको ठगीमा पीडितको विश्वास जितेर भावनात्मक रूपमा उनीहरूको कमजोरीको फाइदा उठाइ लक्षित व्यक्तीको गोपनीयता भंग गरेर डर, धाक, धम्की देखाएर होस् वा भावनात्म रुपमा प्रभाव पारेर रकम असुली ठगी गर्ने गर्दछन् ।

६. रोजगार ठगी

रोजगार ठगी वर्तमान समयमा एक गम्भीर चुनौतीका रूपमा फैलिएको छ, जसका कारण प्रत्येक दिन हजारौं मानिसहरू यसका शिकार बनिरहेका छन्। आजकाल हामी प्रायः सामाजिक सञ्जाल, इमेल र अन्य अनलाइन प्लेटफर्महरूमा आकर्षक रोजगारीका अवसर भन्दै झुठा विज्ञापनहरू देख्ने गर्छौं, जसमा अप्रत्यासीत तलब र घर बसी काम गर्ने प्रलोभनका साथ आर्कषक प्रस्ताव राखिएको देख्न सक्छौं । यस्ता विज्ञापनहरू प्रायः धोखाधडी र भ्रमपूर्ण प्रयासका रूपमा प्रस्तुत गरिन्छ। ठगी गर्नेहरूले प्रायः प्रतिष्ठित संस्थाहरूको नाम र छवि दुरुपयोग गरी लक्षित व्यक्तिहरूसँग सम्पर्क गरी प्रक्रिया शुल्क भन्दै रकम माग गरी ठगी गर्दछन् ।

७. फ्ल्याट भाडा ठगी

यसमा ठगी गर्ने समुह वा व्यक्तीले सस्तो भाडामा आकर्षक फ्ल्याटको नक्कली विज्ञापन प्रकाशित गर्दै इच्छुक व्यक्तिहरूलाई अग्रिम रकम तिर्न लगाई रकम लिइ बेपत्ता हुने गर्दछ । यस्ता विज्ञापनहरूमा प्रायः आकर्षक मूल्यमा राम्रो स्थान र सुविधासम्पन्न फ्ल्याटहरूको प्रस्ताव राखिन्छ, जसले गर्दा व्यक्तिहरू सजिलै विश्वास गरि लोभिन्छन् र ठगीमा पर्ने गर्छन्। जब पीडितहरूले माग गरिएका अग्रिम रकम तिर्छन्, त्यसपछि ठगहरू सम्पर्क बिहिन हुन्छन् । यस प्रकारको ठगी प्रायतः शहरी क्षेत्रमा देखिने गरेको छ ।

अनलाइन ठगीबाट बच्न के गर्ने ?

आजको डिजिटल युगमा अनलाइन ठगी एक गम्भीर समस्या बनिसकेको छ, जसले हामीलाई वित्तीय र व्यक्तिगत हानी पुर्याउन सक्छ। यसबाट बच्नका लागि विभिन्न सुरक्षा उपायहरूलाई ध्यानमा राख्नु अत्यन्त आवश्यक छ।

  • चिठ्ठा पर्यो भन्दै आएको इमेल तथा मेसेज र सामाजिक सञ्जालमा वा इमेलमा आएको शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
  • अप्रत्यासीत सूचना वा प्रस्ताव प्राप्त भएमा आधिकारिक संस्थासँग सिधा सम्पर्क गरेर सत्यता सुनिश्चित गर्नुहोस्।
  • विदेशबाट तपाईको नामबाट उपहार आएको छ, भन्सार कटाउनका लागि भनि iPhone, Laptop जस्ता महंगो सामानको फोटो देखाएर रकम माग गरेमा सचेत रहनुहोस् ।
  • अनलाइनमा बैंक खाता विवरण, पासवर्ड, OTP, क्रेडिट कार्ड जस्ता व्यक्तिगत जानकारी कसैले मागेमा यस्ता गोप्य जानकारी कसैलाई नदिनुहोस् ।
  • तपाईको सामाजिक सञ्जालमा भएको असामान्य गतिविधिमा ध्यान दिनुहोस् र समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस्।
  • सुरक्षित तथा बलियाे पासवर्डको प्रयोग गर्नुहोस् ।
  • सुरक्षित र विश्वसनीय वेबसाइटहरूमा मात्र अनलाइन शपिंग गर्नुहोस् थप सुरक्षाको लागि इसेवाको eScrow Feature को प्रयोग गर्नुहोस् ।
  • अनजान स्रोतबाट आएका फिसिङ्ग इमेललाई बेवास्ता गर्नुहोस्।
  • आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनमा फसी अनलाइन ठगीमा नपर्नुहोस् ।
  • चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गर्नुहोस् ।
  • कम लगानीमा धेरै फाइदा पाउने भन्दै आएको विज्ञापन वा इमेलमा विश्वास नगर्नुहोस् ।
  • ठगीको शिकार भएपछि प्रहरीलाई तुरुन्त रिपोर्ट गर्नुहोस्।
  • परिवार र बच्चाहरूसँग अनलाइन सुरक्षा र जोखिमहरूबारे कुरा गर्नुहोस्, अनलाइन ठगीबाट हुने क्षतीबाट बच्नुहोस् ।

 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

Leave a Reply

Your email address will not be published. Required fields are marked *