इसेवा र प्रगतिनगर खानेपानीबीच अनलाइन बिल भुक्तानी सम्झौता

तपाईं नवलपरासीको देवचुलीबासी हुनुहुन्छ भने खुशीको खबर छ। खानेपानीको महशुल तिर्न घण्टौं लगाएर खानेपानी कार्यालय पुग्ने, महशुल तिर्न लाइनमा बस्ने हैरानी व्यहोर्नु अब पर्दैन।

२०५४ सालमा देवचुली नगरपालिका बासिन्दालाई लक्षित गरी स्थापना भएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले मोबाइल र इन्टरनेटबाट महशुल तिर्ने ब्यवस्था गरेको छ। खानेपानी सस्थाले विहीबार समुद्घाटन कार्यक्रम गरी पेमेन्ट गेट-वे कम्पनी ई-सेवासँग सहकार्य गरेर अनलाईनबाटै महशुल तिर्ने सेवा सुरु गरेको जानकारी दिएको हो।

मोवाइलबाट तिर्न नजान्ने तथा नसक्नेहरुलाई मध्यनजर गर्दै संस्थाले देवचुली नगरपालिकाका सबै क्षेत्रलाई समेट्ने गरी फरक-फरक ठाउँमा ईन्टरनेटको पहुँच भएका २०० स्थानमा केन्द्र तोकेर ‘ई-सेवा’ प्रदान गरेको पनि जनाएको छ। समुद्घाटन कार्यक्रममा बोल्दै खानेपानी सस्थाका अध्यक्ष परशुराम रेग्मीले भने, ‘सेवाग्राहीहरुलाई रकम भुक्तानी गर्दा सहज र छिटो छरीतो पार्न तथा आधुनिक सेवा दिने उद्देश्यले हामीले यस्तो सेवा संचालनमा ल्याएका हौं’। संस्थाले नवलपरासीमै पहिलो पटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेको उनले दाबी गरे।

उनका अनुसार ग्राहक आफैले मोवाईल तथा ईन्टरनेटबाट रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन भने सेवा केन्द्रबाट सेवा लिदा सेवा शुल्क वापत उपभोक्ताले ५ रुपैया अतिरिक्त तिर्नु पर्दछ। ई-सेवा प्रा. लि. का प्रमुख बजार ब्यबस्थापक जफर अलिले प्रबिधिको प्रयोगले खानेपानी संस्थालाई थप ब्यबस्थित, चुस्त र समयानुकूल सेवा दिन सक्षम बनाएको बताए। उनले भने, ‘यस्तो सेवाले उपभोक्तालाई पनि धेरै फाईदा पुग्छ, उनीहरुको समय र खर्च समेत बचत हुन्छ।’

खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएपछि स्थानीय खुशी भएका छन्। समयको बचतसँगै झन्झटबाट समेत मुक्त भएको उनीहरुको भनाइ छ। देवचुली ११ की सारदा बसेलले भनिन्, ‘पानीका लागि राती ३ बजे नै उठेर गाग्री बोकेर हिंड्नुपर्ने हामी खानेपानी आयोजना आएपछि घरमै पानी पाएर दंग थियौं, अहिले घरमै बसीबसी बिल तिर्न सकिने भएकोले थप सहज हुने भयो।’

यस्तै देवचुली १५ का बिजेस श्रेष्ठले भने, ‘पानीको बिल तिर्नकै लागि ई-रिक्सा चढेर आउदा ५० रुपैया खर्च हुन्थ्यो, अहिले घरबाटै बिल तिर्न सकिने भएकोले मेरो त खर्च जोगिने भो, यो संस्था ले निकै राम्रो काम गर्यो।’

प्रकाशित १३ माघ २०७३, बिहिबार | 2017-01-26 14:12:18

Source: https://nepalkhabar.com/np/news/business/9362/

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.