आजको दिनमा इसेवा बारे त अधिकांशले सुनेकै छौं । हामी मध्ये कतिले त प्रयोग पनि गर्दैछौं होला । इसेवालाई लिएर सबैको धारणा फरक फरक हुन सक्छ । कसैले यो एकदमै राम्रो छ भन्लान् भने कसैको अनुभव विपरित पनि हुन सक्छ । कतिलाई यसको बारेमा विस्तृत रुपमा थाहा होला त कसैलाई धेरै थोरै थाहा होला । यदि इसेवा र इसेवा जस्ता डिजिटल वालेटहरु कसरी संचालन हुन्छन् र कसरी काम गर्छन् भन्ने जान्न इच्छुक हुनुहुन्छ भने यो ब्लग तपाईको लागि हो ।
यो लेखमा हामी इसेवामा लोड गरिएको पैसा कहाँ जान्छ, इसेवामा कसरी रकम लोड हुन्छ, र इसेवा खातामा रहेको रकम तथा भुक्तानीहरु इसेवामा सुरक्षित छ वा छैन भन्ने बारेमा छलफल गर्नेछौँ । हामीले कहिले काँही सुन्ने गरेकाछौं, इसेवामा पैसा लोड नै भएन, मैले भुक्तानी गर्दा पैसा काट्यो तर त्यस वापत सेवा पाएनौं, इसेवामा बैंकबाट पैसा लोड गर्दा बैंकबाट पैसा काट्यो तर इसेवामा पैसा देखिएन इत्यादी । सर्वप्रथम यस्ता समस्याहरु कहाँबाट उत्पन्न हुन्छन् र यसका कारणहरु बारेमा समेत बुझ्ने छौं ।
इसेवाको सेटलमेन्ट बैंकको रुपमा नबिल बैंक रहेको छ । सेटलमेन्ट बैंक भनेको वित्तीय संस्थाहरु बीचको भुक्तानी र कारोबारहरु मिलान गर्ने बैंक हो । इसेवाबाट हुने सम्पूर्ण कारोबार रकम नबिल बैंकमा रहने गरेको छ । इसेवाले आफै रकम होल्ड गर्दैन । वास्तवमा इसेवामा देखिने रकम पनि नबिल बैंकमा रहेको सेटलमेन्ट खातामा रहने गरेको छ । यस बिच ग्राहकको रकम सुरक्षित राख्न र गलत खाता वा बैंकमा जानबाट रोक लगाउन विविध प्रक्रियाहरु पार गर्नु पर्ने हुन्छ ।
Contents
कसरी हुन्छ त लोड प्रक्रिया ?
ग्राहकवर्गका लागि इसेवामा पैसा लोड गर्ने प्रक्रिया मात्र केहि सेकेन्डको सामान्य कार्य हुन सक्छ, तर यस प्रक्रिया पछाडि बैंक, इसेवा र सेटलमेन्ट बैंकको बीचमा धेरै चरणमा काम हुन्छ । इसेवा ग्राहकले जब आफ्नो बैंक खाता मार्फत रकम लोड गर्छन् तब ग्राहकको बैंक खाताबाट पैसा काटिन्छ । यसरी काटिएको रकम बैंकको आन्तरिक मिरर खातामा (Mirror account) क्रेडिट हुन्छ । ‘मिरर खाता’ इसेवा कारोवारको रेकर्ड तथा पैसा लोड -Load_ र अनलोड -Unload_ गर्न मद्दत पुर्याउन प्रयोग हुने बैंकको आन्तरिक लेखापरिक्षण खाता हो । त्यसपछि, इसेवाको सिस्टमले इसेवा खाता र अन्य विवरण प्रमाणीकरण गर्दछ । यदि सबै कुरा ठीक भएमा थप प्रक्रियाको लागि सेटलमेन्ट बैंकमा पठाइन्छ, जहाँ सम्बन्धित बैंकको नोस्ट्रो खाता डेबिट र सेटलमेन्ट खाता Central Transaction Processing (CTP) क्रेडिट हुन्छ ।
यसरी मिरर खातामा जम्मा भएको पैसा नोस्ट्रो खातामा-Nostro Account_ प्रतिबिम्बित हुन्छ । नोस्ट्रो खाता भनेको बैंकहरुले अन्तर बैंक भुक्तानीको लागि प्रयोग गरिने खाता हो । Central Transaction Processing (CTP) भनेको इसेवा कारोबारहरुको सेटलमेन्टको लागि सेटलमेन्ट बैंकमा खोलिएको एक विशेष खाता हो । यस खातामा इसेवा ग्राहक, एजेन्ट र मर्चेन्टहरुको सम्पूर्ण रकम संकलित हुन्छ ।
CTP खातामा रकम ट्रान्सफर प्रक्रिया पुरा भएपछि, इसेवाले उक्त रकम ग्राहकहरुको इसेवा वालेटमा ट्रान्सफर गरिदिन्छ । यसै प्रक्रिया मार्फत ग्राहकहरुको इसेवा वालेटमा लोड भएको रकम तुरुन्तै देखिन्छ । यसरी बैंक र इसेवा वालेट बीच भएको रकम ट्रान्सफरको अन्तिम सेटलमेन्ट इसेवाको सेटलमेन्ट बैंकको रुपा रहेको, नबिल बैंकले गर्दछ ।
यसरी इसेवामा रकम लोड गर्दा रकम ट्रान्सफर गर्ने बैंक, इसेवा र सेटलमेन्ट बैंक बीचको समन्वयका लागि सुरक्षित VPN प्रयोग हुन्छ, जसले गर्दा ग्राहकहरुको रकम सुरक्षित रुपमा ट्रान्सफर हुने गर्दछ । रकम लोड तथा ट्रान्सफर प्रक्रिया ग्राहकका लागि सरल, छिटो र सहज देखिएता पनि यसमा पारदर्शिता र सुरक्षालाई विशेष ध्यान दिइन्छ ।
कहिले काँही रकम लोड गर्दा किन अवरोध आउँछ त ?
माथि उल्लेख गरे बमोजिम इसेवाको सम्पूर्ण आर्थिक प्रक्रिया विद्युतीय सिस्टमबाट चल्ने गर्दछ तर कहिले काँही बैंक तथा इसेवा बीचको सर्भर तथा नेटवर्कमा आएको समस्याहरुका कारणले रकम लोड गर्दा समस्याहरु आउने गर्दछ । इन्टरनेट/नेटवकमा अवरोध आइरहेको अवस्थामा कारोबारको विवरण सर्भर सम्म पुग्न सक्दैन र लोड/भुक्तानी प्रक्रियामा अवरोध हुने गर्दछ । त्यसै गरि बैंक वा इसेवाको सर्भर व्यस्त हुँदा वा मर्मत क्रममा रहेको खण्डमा पनि भुक्तानी प्रक्रिया कहिलेकाही केहि हदसम्म सुस्त हुन सक्दछ । यी प्रविधिक कारणका साथै कहिले काँही प्रयोगकर्ताहरुद्वारा प्रदान गरिएको त्रुटिपूर्ण विवरणका कारण इसेवामा पैसा लोड नहुने, भुक्तानी गर्दा पैसा काट्ने तर त्यस वापत सेवा नपाउने , अर्को इसेवा खातामा पैसा लोड हुने जस्ता समस्याहरु आउने गर्दछ ।
इसेवा मार्फत कारोबार गर्दा समस्या आएमा के गर्न सकिन्छ ?
समान्यत इसेवा मार्फत कारोबार गर्दा प्रविधिक कारणले आएको समस्या २४ घण्टामा समाधान हुन्छ । तर नभएको खण्डमा इसेवा प्रयोगकर्ताले इसेवाको Toll-Free Numbers 1660-0102121 (NTC), 1810-21-02121 (NCELL) मा सम्पर्क वा [email protected] मा इमेल गरि समस्या समाधानका लागि निवेदन दिन सकिन्छ । यसै गरि इसेवा ग्राहकहरुले इसेवा एप मार्फत समस्या बारे इसेवामा जानकारी दिन सक्छन् । प्रयोगकर्ताले इसेवा एपको मेनुमा रहेको ग्राहक सहायता सेक्सनमा गई, त्यहाँ उपलब्ध सहयोग बटन थिची, आवश्यक विवरण भरेर आफ्नो समस्या रिपोर्ट गर्न सक्छन् ।
इसेवा बारे
इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा लि., काठमाडौंमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू रहेको छ । मोबाइल टपअप बाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेज शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इ स्पिकर , मर्चेन्ट लिङक सुविधा दिदै आएको छ ।